skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसीको रजत वर्ष प्रारम्भ

गरामनी । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले नेपालको सुरक्षा व्यवस्था बलियो हुन नसक्नुमा यो देशका सम्पूर्ण राजनीतिक दल पनि दोषी भएको बताएका छन् ।

फागुन २४ गते झापाको गरामनीमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापाको २५ औँ वार्षिकोत्सव तथा अतिरिक्त रजत वर्ष सुभारम्भ समारोहमा बोल्दै मन्त्री कार्कीले अव प्रदेश सरकारले जनतालाई सुरक्षाको प्रत्याभुती हुने गरी नीतिगत कार्ययोजना तुरुन्त निर्माण गर्ने बताए । उनले स्थानीय सहकारीलगायत अन्य संघ संस्थासँग सहकार्य गर्दै अपराध न्यूनिकरणका लागि अघि बढ्ने समेत प्रतिबद्धता व्यक्त गरे ।

समाजमा हुने विभिन्न सामाजिक अपराध, लागुऔषध, ट्राफिक व्यवस्था आदि कुरामा सहकारी र अन्य संघ संस्थाको सहयोग लिने मन्त्री कार्कीको भनाई थियो । शेरवहादुर देउवा नेतृत्वको सरकारले ढिलो गरी प्रदेश राजधानी घोषणा गरेका कारण समयमै जनताले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको बताउदै प्रदेश सरकारले एकसय दिनमा गर्ने योजना सार्वजनिक गरिसकेको प्रष्ट पारे । सहकारी क्षेत्र वलियो भएको बताउदै सहकारीमा कतै कतै समस्या पनि रहेको विचार मन्त्री कार्कीले व्यक्त गरे । नेपाल बहुउद्देश्यीय सहकारी संस्था देशकै अग्रणी संस्था भएको चर्चा गर्दै राज्यले पुरा गर्ने दायित्व यो मुलुकका सहकारीले पुरा गरेको उनको भनाई थियो । मन्त्री कार्कीले सहकारीकर्मीलाई सहकारीका मुल्य, मान्यता र सिद्धान्तलाई नविर्सन समेत सुझाँव दिए ।

मन्त्री कार्कीले प्रदेश नम्बर १ का १४ वटा जिल्लामा सञ्चालनमा रहेका अधिकाँश सहकारी बलिया रहेको विश्वास व्यक्त गरे । एमालेका केन्द्रिय सदस्य एवम् मेची अञ्चल इञ्चार्जसमेत रहेका कार्कीले आफ्नो पार्टीको नेतृत्वमा सरकार रहेका बखत सरकारी, नीजि र सहकारीलाई अर्थतन्त्रका तीनवटा खम्बाका रुपमा घोषणा गरेको बताउर्दै तीनखम्बे अर्थनीति ल्याएको दाबी गरे । सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री कार्कीले रजत वर्ष अवधिभरका लागि रजत वर्षको लोगो र नारा सार्वजनिक गरेका थिए । रजत महोत्सवको नारा ‘असल संस्कार र समृद्धिका लागि एनएमसी’ रहेको छ ।

संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले रजत महोत्सव वर्षभरि संस्थाले विभिन्न २५ प्रकारका रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने बताउँदै वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । रजत वर्ष अवधिभरका लागि रजत वर्षको लोगो र नारा सार्वजनिक, स्मारिका प्रकाशन र डकुमेन्ट्री तयार, रजत वर्ष अवधिभर प्रयोग गरिने संस्थाका प्रकाशन तथा सामग्रीमा रजत वर्ष लोगो प्रयोग , रजत वर्षको लोगो अंकित ब्याच र मायाको चिनो तयारी , भौतिक पूर्वाधार तथा निर्माण सम्बन्धी कार्यहरु अन्तर्गत रजत वर्ष स्तम्भ निर्माण, ज्येष्ठ नागरिक आवास गृह निर्माणको प्रारम्भिक कार्यको सुरुवात, एनएमसी संग्रालय निर्माणको प्रारम्भिक कार्य प्रारम्भ गरिने अध्यक्ष उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सेवा विस्तार, सर्वेक्षण र कल्याणकारी कोष स्थापना अन्तर्गत संस्था स्थापनाको २५ वर्षको अवसरमा संस्थाको सेवा सदस्यहरु माझ सहज पहुँचका लागि झापा जिल्लाका थप २५ स्थानबाट क्रमशः सेवा प्रदान गर्ने ,संस्थाका कर्मचारी र संस्थाको संयुक्त सहभागितामा एनएमसी कर्मचारी कल्याण कोषको स्थापना, डिजिटल प्रविधिमा आधारित मोबाइल बैंकिङ, एसएमएस सेवा र सदस्य मत सर्वेक्षणको कार्य प्रारम्भ, साहित्य तथा सांस्कृतिक क्षेत्रसँग सम्बन्धित कार्यक्रम समेत सञ्चालन गरिने समेत प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा संस्थाको पुरस्कार सम्बन्धी नीति तथा कार्यविधि २०७१ (संशोधन २०७४) मा व्यवस्था भए अनुसार व्यक्ति, संघ संस्था, सदस्य एवम् कर्मचारीहरुलाई विभिन्न विधामा पुरस्कृत र सम्मानित गरीयो । वर्ष उत्कृष्ट प्रतिभा÷व्यक्तित्वका रुपमा अर्पण शर्मा कट्टेललाई २५ हजार रुपैयाँ, वर्ष उत्कृष्ट सञ्चार गृहका रुपमा रेडियो सरगमलाई ११ हजार रुपैयाँ, वर्ष उत्कृष्ट कृषकका रुपमा उद्योगप्रसाद तिवारीलाई १० हजार रुपैयाँ, उत्कृष्ट सदस्यहरु बिर्तामोड र चारआली कार्यालय अन्तर्गतका ३–३ जना, काँकरभिट्टा, चन्द्रगढी, सुरुङ्गा, भद्रपुर, बनियानी, बुधबारे र शनिश्चरे कार्यालय अन्तर्गतका २–२ जना तथा धुलाबारी, बाहुनडाँगी, इँटाभट्टा, शरणामती, गोलधाप र दूधे कार्यालय अन्तर्गतका १–१ जना गरी २६ जना सदस्य दम्पत्तीलाई नगद ५ हजार रुपैयाँसहित प्रसंशा पत्रले सम्मान गरिएको थियो । यसैगरी संस्थाका कर्मचारीहरु र कार्यालयहरु मध्येबाट यस वर्ष दीर्घ सेवा उत्कृष्ट कर्मचारी भूपाल गौतमलाई नगद १५ हजार तथा कदर पत्र, वर्ष उत्कृष्ट कर्मचारी अर्चन ढुंगानालाई नगद १५ हजार तथा कदर पत्र वर्ष उत्कृष्ट व्यवस्थापक कमलप्रसाद कट्टेललाई नगद १५ हजार, तथा कदर पत्र, वर्ष उत्कृष्ट बजार प्रतिनिधि तेजराज नेपाललाई नगद १० हजार रुपैयाँसहित कदरपत्र तथा उत्कृष्ट कार्यालय एनएमसी गोलधाप कार्यालय सम्मान पत्र प्रदान गरियो । पुरस्कृत एवम् सम्मानित व्यक्तित्वहरुलाई संस्थाका अध्यक्ष प्रमुख अतिथि कार्की विशिष्ट अतिथिलगायतले नगद तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनालीलगायतको उपस्थिती रहेको थियो भने प्रदेश सभा सदस्य एकराज कार्की, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेश पोखरेल, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल, मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेती, जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाललगायतले बोलेका थिए । कार्यक्रममा वर्ष उत्कृष्ट व्यक्तित्व अर्पण कट्टेलले संस्थाको मासीक बुलेटिन एनएमसी दर्पणको ३० नम्बर पृष्ठमा रहेको यस संस्थाका बाल बचतकर्ताहरुमध्ये फागुन महिनामा जन्म दिन परेका तीसजनाको नाम उल्टो र सुल्टोबाट नहेरी भनेर सहभागीलाई अचम्मित पारेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सञ्चालक सदस्यद्वय ठाकुरप्रसाद शिवाकोटी र भगवती घिमिरेले संयुक्तरुपमा गरेका थिए । स्वागत संस्थाका संस्थाका सञ्चालक सदस्य डम्बरबहादुर बस्नेतले गरेका थिए । संस्थाका उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले समापन मन्तव्य राखेको कार्यक्रममा नृत्य एवम् साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

वार्षिकोत्सवकै अवसरमा संस्थाको स्वास्थ्य समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ८० प्रिन्ट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटि झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदान भएको समितिका संयोजक दिलीप सुवेदीले बताए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top