skip to Main Content
सम्पर्क: +977-23-563188 / 562847 (प्रधान कार्यालय) Check Mail Career Download Contact us

एनएमसी डेरी उद्योगको दोस्रो वार्षिकोत्सव

 नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाको पूर्ण स्वामित्वमा रहेको  एनएमसी डेरी उद्योग मेचीनगर—८ को को दोस्रो वार्षिकोत्सव बैशाख २ गते विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । डेरी परिसरमा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक कैलाशप्रसाद ढुंगेलले गरेका थिए । उद्घाटन मन्तव्य राख्दैं कार्यक्रमका प्रमुख अतिथि समेत रहेका ढुंगेलले यो उद्योगले २ वर्षको अवधिमा गरेको प्रगति देख्दा अबको १० वर्षपछि दुधक्षेत्रका लागि यसले राष्ट्रिय नेतृत्व गर्ने विश्वास व्यक्त गरे । अबको दुनियामा सहकारीलाई अलग राखेर कुनैपनि रुपमा देशलाई आर्थिकरुपमा समृद्ध्शिाली बनाउन नसकिने उनको भनाई थियो ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनमा ल्याएको यो उद्योगले पनि यसलाई प्रमाणित गरिदिएको उनले बताए । ‘अब यसका उत्पादन सीमित ठाउँमामात्र राख्न हुदैन’ उनले भने —‘काठमाण्डौको वानेश्वरमा तत्काल त्यहाका बासीन्दाले खान पाउन पर्छ, यसका लागि विकास वोर्डले के गर्नुपर्छ अहिल्यै भन्नुहोस, बोर्ड तपाईहरुसंग हातमा हात काँधमा काँध मिलाएर अघि बढ्न तयार छ ।’ मुलुकलाई दुधका लागि आत्मनिर्भर बनाउने कुरामा अब एनएमसीले दुधको सेतो झण्डा बोकेर सेतो क्रान्ति गर्नुपर्छ त्यो झण्डालाई वोर्डले ताप्लेजुंगमा पुर्याउछ आउने पुस्ताले सगमाथाको चुचुरोमा पुर्याउने ढुंगेलले उदघोष गरेका थिए । यसका लागि किसानलाई उनले व्यवसायिकरुपमा पशुपालन गर्न समेत सुझाँव दिए । उनले एनएमसीलाई आफ्ना उत्पादनमा कुनै पनि हालतमा सम्झौता नगर्न पनि सुझाँव दिए । ‘तपाईहरु उत्पादनमा प्रतिस्पर्धा गर्नुहोस ’ उनले भने —‘ तर, गुणस्तरमा कहिल्यै सम्झौता नगर्नुहोस ।’

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले अब कृषकले घासमा आधारित पशुपालन व्यवसाय गर्नुपर्ने बताए । दानामा भन्दा घासमा आधारित पशुपालन गर्नाले नाफा राम्रो हुने उनको भनाई थियो । नेपाल बहुउद्देश्यीय सहकारी संस्था झापाका अध्यक्ष एवम् एनएमसी डेरी व्यवसाय समितिका संयोजक रामचन्द्र उप्रेतीले सभापतिको आसनबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । एनएमसीले दिगो विकासको लक्ष्य हासिल गर्न आफ्ना कार्यक्रमहरू अगाडि बढाउने गरेको एनएमसी डेरी उद्योग त्यसैको एउटा नमुना प्रोजेक्ट रहेको अध्यक्ष उप्रेतीले बताए ।

अध्यक्ष उप्रेतीले प्रस्तुत गरेको प्रतिवेदनमा एनएमसीले बितेका करिब २० वर्ष आफ्नो क्षमता, पुँजी र विश्वसनियता विकास गर्न खर्चेको छ भन्दा अत्युक्ति नहोला । हामी त्यही अनुभव र क्षमताको जगमा उभिएर नयाँ व्यवसायतर्फ उन्मुख हुँदै छौँ । त्यसको प्रारम्भ डेरी उद्योगबाट भएको छ । डेरी उद्योग आफैमा निकै चुनौतिपूर्ण व्यवसाय हो । यति जान्दाजान्दै पनि हामी यसमा हामफालेका हौं । यसको एउटै कारण हो झापामा दुध उत्पादनमा संलग्न भएका किसानको व्यावसायिक सुरक्षा र विकास । किन कि यो काममा हाम्रा धेरै सदस्यहरू संलग्न भएका छन् । डेरी उद्योगको सफल सञ्चालनले मात्रै किसान सदस्यलाई सुरक्षा प्रदान गर्न सकिन्छ । त्यसैले यो दुई वर्ष डेरीको सफल सञ्चालनमा नै मुख्य रूपमा ध्यान केन्द्रित गरेको उल्लेख छ ।

झन्डै १४ करोडको लगानीमा सञ्चालित यस डेरी उद्योगबाट तुरुन्तै नाफा आर्जन गर्ने संस्थाको उद्देश्य नभएको र नाफाका लागि हतार गरिहाल्नु पर्छ भन्ने सोच पनि नरहेको उप्रेतीले बताए । गत वर्ष उद्योगको सञ्चालन घाटा १४ लाखभन्दा बढी र ह्रास कट्टी खर्च १ करोड २४ लाख पुगेको थियो । तर चालु आर्थिकवर्ष २०७३÷०७४  प्रारम्भदेखि नै सञ्चालन खर्च धानेर केही बचत गर्न सकिएको तथा यो वर्ष उद्योगले ह्रास कट्टी खर्च समेत उल्लेख्य रूपमा जम्मा गर्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख छ । अर्को वर्षदेखि लगानीको केही रकम फिर्ता गर्न सुरु गर्ने अनुमान गरका छौँ । हामी यति ढुक्कले भन्न सक्ने भएका छौँ कि अब आर्थिक कारणले उद्योग समस्यामा नभएको उप्रेतीले बताए ।

हाल उद्योगसंग ४९ वटा एनएमसी डेरी पार्लर र २०० भन्दा बढी खुद्रा विक्रेता रहेका छन् । झापा, मोरङ र सुनसरीको इटहरीसम्म बजार विस्तार भएको छ । सहरमा मात्रै होइन गाउँ गाउँमा हाम्रा उत्पादनको बजार विस्तार भएको छ । हाल डेरी उद्योग झन्डै २ हजार किसान परिवारसँग जोडिन पुगेको छ । हामीले अब झापामा मिल्क होलिडे हुन नदिने प्रतिवद्धता गरेका छौँ । उद्योगको तर्फबाट दैनिक ११ हजार लिटर दुध खपत भए पनि सहज आपूर्ति हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

यस उद्योगले दुई वर्षको अवधिमा चिस्यान केन्द्र स्थापना गर्न र किसानलाई चिस्यान केन्द्र वा दुध संकलन केन्द्रसम्म दुध आफै लिएर जाने बानी लगाउन धेरै मिहिनेत गरेको र उद्योगले झापाभित्र र केही जिल्ला बाहिरबाट समेत गरेर १८ भन्दा बढी चिस्यान केन्द्रबाट दैनिक १० हजार लिटर दुध संकलन गरिरहेको बताइएको छ । शरणामती र शान्तिनगरमा उद्योगका आफ्नै दुध चिस्यान केन्द्रहरू रहेका छन् । डेरी उद्योगसँग जोडिएका चिस्यान केन्द्रसँग सरसफाइ, दुधको स्वच्छता र शुद्धता, दुधको संवेदनशिलता आदिबारे नियमित सम्पर्क र संवाद गरिने गरेकाले दुधको गुणस्तर राम्रो कायम गर्न मद्दत पुगेको समेत प्रतिवेदनमा उल्लेख छ ।

डेरी उद्योग एउटा शृङ्खलावद्ध व्यवसाय हो । यसमा दुध उत्पादक किसान, दुध सङ्कलन तथा चिस्यान केन्द्र सञ्चालन गर्ने व्यवसायी, दुध प्रशोधन गरी बजारसम्म सही अवस्थामा पु¥याउने डेरी उद्योग, उपभोक्ताको सेवामा समर्पित बिक्रेता र सन्तुष्ट उपभोक्ता यो शृङ्खलामा आवद्ध भएका हुन्छन् । यी सबै एक अर्कामा आश्रित र अन्तरनिर्भर हुँदाहुँदै पनि आआफ्नो व्यवसाय सुरक्षा स्वार्थका कारण अन्तर्विरोधी पनि हुन् । किसानले दुधको मूल्य बढी चाहने, सङ्कलक र बिक्रताले बढी कमिसन र सुविधा माग गर्ने र उपभोक्ताले गुणस्तरीय सामान सस्तोमा पाउनुपर्छ भन्ने माग गर्ने गर्छन् । यी सबैका चाहना र माग अस्वाभाविक होइनन् ।

उद्योगका आफ्नै समस्या छन् । बजारमा अस्वस्थ प्रतिस्पर्धा, प्रशोधित र अप्रशोधित उत्पादनलाई उस्तैउस्तै ठान्ने उपभोक्ताको चेतना, औद्योगिक परिवेशको अभाव, दक्ष र सन्तुष्ट कर्मचारी तयारीको चुनौती, जुन मौसममा बढी उत्पादन हुन्छ त्यही समयमा खपत कम हुने तर जब उत्पादन र सङ्कलन कम हुन्छ तब बजारमा माग धेरै हुने, निरन्तर गुणस्तर कायम गर्न स्रोत, राखरखाव, ओसारपसार र प्रशोधनको सही व्यवस्थापनमा पर्याप्त ध्यान दिनुपर्ने जस्ता मुख्य समस्या उद्योगका सामु रहेका छन् । यी सँगसँगै उद्योगमा ठुलो लगानी भएको हुन्छ र त्यसलाई निरन्तर घाटामा चलाउन सम्भव छैन । त्यसैले उद्योग वित्तीय रूपमा पनि स्वस्थ हुनै पर्छ ।

उद्योगमा ६५ जनाले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा धेरैको रोजगारी सिर्जना भएको छ । मासिक झन्डै दुई करोडको उत्पादन बिक्री हुने गरेको छ ।  विक्रेतालाई दिइने कमिसन सरकारी स्वामित्वको डिडिसी र अरु ठुला उद्योगले दिएको भन्दा राम्रो कमिसन दिएर टिकाउने प्रयास गरिएको,  किसानलाई दिइने दुधको मूल्यमा समेत न्याय गर्न कोसिस,तर उद्योगको वित्तीय सन्तुलन कायम गर्न पनि सरकार र डेरी एसोसिएसनले डेरी उद्योगसम्बन्धी लिएको नीति मान्न बाध्य हुनै पर्ने जनाइएको छ । किसानको पक्षमा विभिन्न डेरीले निःशुल्क प्राविधिक सहयोग, घाँसको बिउ र विरुवा वितरण, पशु बिमामा सहजिकरण र अनुदान किसानलाई व्यावसायिक तालिम, गँड्यौले मल सम्बन्धी कार्यक्रम, भेटेरिनरी प्रयोगशाला स्थापनाका लागि सहयोग, कागती अभियानलगायतका कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

दुधको व्यावसायिक उत्पादन नहुने र भए पनि न्यून हुने गरेकाले बढी खपत हुने समयमा थोरै उत्पादन तथा सङ्कलन हुने तर धेरै उत्पादन हुने समयमा खपत कम हुने कारणले डेरी सधैँ समस्यामा रहेका छन् , डेरी उद्योगले गुणस्तर, तौल, मूल्य, शुद्धता र सरसफाइ, भ्याट, ट्याक्स आदिको मापदण्ड पुरा गर्नुपर्ने तर खुला दुध र परिकार बिक्री वितरण गर्ने डेरीले कुनै मापदण्ड पालन गर्नु नपर्ने भएकाहरूसँग मूल्यमा प्रतिस्पर्धा गर्नुपर्ने , यस्ता कृषिजन्य उद्योगमा सरकारको सहयोग र सुविधा हुनुपर्नेमा हालसम्म यो उद्योगले कुनै सहयोग नपाउँदा सरकारको नीति र कार्यशैली नै समस्या तथा दक्ष जनशक्तिको अभाव, ऊर्जाको सङ्कट डेरीको चुनौती रहेको बताइएको छ ।
उद्योगका प्रबन्ध निर्देशक श्याम मिश्रले सञ्चालन गरेको कार्यक्रममा दुग्ध विकास संस्थानका महाप्रवन्धक गंगाप्रसाद तिम्सिना, पशुसेवा कार्यालय झापाका प्रमुख डाक्टर माधव दाहाल, पशुपालन तथा दुग्ध उत्पादक संघ झापाका अध्यक्ष एलपी सिटौला, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य उमेश डालमिया, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, सदस्य दुर्गा खतिवडा, विराट क्षेत्र पर्यटन प्रवद्र्घन विकास समितिका सदस्य मिना उप्रेती, संस्थाका सञ्चालक सदस्य नारायणप्रसाद कोइरालालगायतले बोलेका थिए ।

कर्मचारीदेखि चिस्यान केन्द्र सम्म पुरस्कृत

वार्षिकोत्सवका अवसरमा वर्ष उत्कृष्ट दुध उत्पादक किसान सूर्योदय पशुपक्षी तथा कृषि फर्म सुरुङ्गा, वर्ष उत्कृष्ट दुध चिस्यान केन्द्र जिटुजी दुध चिस्यान केन्द्र, धरमपुर वर्ष उत्कृष्ट एनएमसी डेरी पार्लर आशीर्वाद डेरी पार्लर, शनिश्चरे, वर्ष उत्कृष्ट खुद्रा बिक्रेता भट्टराई किराना पसल, बिर्तामोड वर्ष उत्कृष्ट कर्मचारी (आन्तरिक)  गोविन्द ढकाल वर्ष उत्कृष्ट कर्मचारी (मार्केटिङ) भुपालमान कार्कीलाई सम्मान तथा पुरस्कृत गरियो ।

उद्योगसँग आवद्ध भएका किसान, चिस्यान केन्द्र, एनएमसी डेरी पार्लर, खुद्रा बिक्रेता र उद्योगमा कार्यरत कर्मचारी मध्येबाट वर्ष उत्कृष्ट छनोट गरी राम्रो मध्येको राम्रो गर्नेलाई प्रोत्साहित गर्ने उद्देश्यले यसै वर्षदेखि यो कामको थालनी गरिएको हो । सम्मानित एवम् पुरस्कृत व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिसहितले जनही ५ हजार नगदसहित प्रंशसा पत्र प्रदान गरेका थिए ।

This Post Has 0 Comments

Leave a Reply

Back To Top