नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विषयगत उपसमिति अन्तर्गत महिला सशक्तिकरण उपसमितिको आयोजनामा एकदिवसीय उद्घोषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम उपसमितिकी संयोजक पवित्रा न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे मैनाली, लेखा सुपरीवेक्षण समितिकी संयोजक रचना दाहालको प्रस्तुति रहेको थियो । भगवती घिमिरेले संस्थाका सदस्य सहजकर्ताहरुलाई उद्घोषण सम्बन्धी व्यवहारिक र सैद्धान्तिक ज्ञान प्रदान गर्नु भएको थियो । कार्यक्रमका क्रममा रचना दाहालले मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक प्रस्तुति दिँदै सहभागीहरुलाई मानसिक स्वास्थ्यको महत्व, यसको हेरचाह तथा दैनिक जीवनमा अपनाउनुपर्ने उपायहरुबारे जानकारी गराउनुभएको थियो।
स्थानीय डुँडामारी सेवा केन्द्रकोव्यवस्थापनमा सम्पन्न उक्त तालिममा संस्थाका सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँले कार्यक्रमलाई सहज, व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटी तथा सञ्चालक सदस्य दुर्गाप्रसाद भट्टराईको विशेष उपस्थिति रहेको थियो । संस्थाको अध्यक्षज्यूले यस्ता तालिमले विशेषगरी महिलाहरुको आत्मविश्वास अभिवृद्धि गर्ने, सार्वजनिक बोल्ने क्षमता विकास गर्ने र नेतृत्व क्षमता सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।
उक्त उद्घोषण तालिममा सहभागी महिलाहरुले कार्यक्रमबाट महत्वपूर्ण ज्ञान तथा सीप हासिल गरेको प्रतिक्रिया दिएका छन्। तालिमले उनीहरुलाई आगामी दिनमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुन थप हौसला प्रदान गर्ने अपेक्षा गरिएको छ।
समग्रमा, महिला सशक्तिकरणलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको यो कार्यक्रमले सहभागीहरुमा सकारात्मक ऊर्जा र आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।






