बिर्तामोड । इलाम क्षेत्रलाई ट्राइब्रेकरमा हराउँदै मेची क्षेत्रले एनएमसी महिला कर्मचारीस्तरीय फुट्सल प्रतियोगिताको दोस्रो संस्करणको उपाधि हात पारेको छ । गत शनिबार बिर्तामोडमा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका महिला कर्मचारी सम्मिलित ८ वटा टोलीको सहभागिता रहेको थियो ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गतको विषयगत उपसमिति खेलकुद उपसमितिको आयोजनामा सम्पन्न प्रतियोगितामा संस्था अन्तर्गतका ६ वटा क्षेत्रहरु मेची, बिर्ता–अर्जुन, भद्रपुर–केचना, कनकाई–रतुवा, मोरङ र इलामका साथै संस्थाको चौथो व्यवसाय सहकारी पसल व्यवसाय र कर्पाेरेट तथा वित्तीय प्रधान कार्यालयको एउटा संयुक्त टोली बिच प्रतिष्पर्धा भएको थियो ।
प्रतियोगितामा उत्कृष्ट गोलकिपर मेची क्षेत्रबाट रिता श्रेष्ठ प्रधान, प्रतियोगिताको उत्कृष्ट खेलाडी इलाम क्षेत्रबाट अप्सरा राई घोषित भए । विजेता मेची क्षेत्रले नगद १२ हजार र उपविजेता इलामले नगद ८ हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । विजेता तथा उपविजेता टोलीलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती लगायतले सम्मान गरेका थिए ।