झापा । युवा सदस्यका माझमा विगतदेखि नै कार्यक्रमहरु सञ्चालन गर्दै आएको एनएमसीले यसपटक बैशाख २४ र २५ गते अभिभावकत्व कला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख २४ गते झापाको कुञ्जीबारी र बैशाख २५ गते मोरङको बेलबारीमा सम्पन्न कार्यक्रमको आयोजना संस्था अन्तर्गतको युवा सरोकार उपसमितिले गरेको हो । संस्थाको स्थानीय सेवाकेन्द्रहरु कुञ्जीबारी र बेलबारी सेवाकेन्द्रले सम्बन्धित स्थानमा सम्पन्न कार्यक्रमको स्थानीय व्यवस्थापन गरेका थिए ।
दुई छुट्टाछुट्टै स्थानमा सम्पन्न कार्यक्रमको सहजीकरण लेखक तथा उत्पे्ररक तुलसी निरौलाले गर्नुभएको थियो । एकसय ५० भन्दा बढी सहभागीहरुलाई सहजकर्ताले बालबालिका हुर्कने वातावरण, उनीहरुको रुची, रुचीसँग सम्बन्धित अभिभावकको जिम्मेवारी विषयमा सहजीकरण गर्नुभएको थियो । वर्तमान समयमा अभिभावकको व्यवस्तताका कारण बालबालिका प्रविधिको कुलतमा फसेको तर्क उहाँको थियो ।
कुञ्जीबारी कार्यक्रममा संस्थाका सञ्चालक समिति उपाध्यक्ष भगवती घिमिरेको विशेष उपस्थिति रहेको थियो भने स्वागत उपसमिति सदस्य टिका पौडेल ढुंगाना र सञ्चालन सदस्य सचिव हिरन कट्टेलको रहेको थियो । बेलबारी कार्यक्रममा स्वागत एकाइ उपसमिति संयोजक चुडामणि अधिकारीले गर्नुभएको थियो भने सञ्चालन मोरङ क्षेत्रीय प्रमुख होमनाथ मैनालीले गर्नु भएको थियो । दुवै कार्यक्रमको अध्यक्षता उपसमिति संयोजक एकेन्द्र उप्रेतीको रहेको थियो ।