NMC-COOP

एनएमसीको कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगितामा राजेश राई प्रथम

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) अन्तर्गत खेलकुद उपसमितिले शनिवार कर्मचारीस्तरीय बुद्धिचाल प्रतियोगिता आयोजना गरेको छ ।मेची युमा चेस एकाडेमीको सहयोगमा संस्थाको बिर्तामोडस्थित सेवा केन्द्रको सभाहलमा आयोजित प्रतियोगितामा राजेश राईले प्रथम स्थान हासिल गरेका छन् । संस्थाका १८ जना कर्मचारीहरुले भाग लिएको उक्त प्रतियोगितामा विक्रम राई दोस्रो र विशाल ढुंगाना तेस्रो भए भने महिलातर्फ रोजिना डाँगी प्रथम भइन् ।

पुरस्कारराशी जनही क्रमशः ५ हजार, ४ हजार, ३ हजार र ३ हजार रुपैयाँसहित पुरस्कृत खेलाडीहरुलाई आयोजक उपसमितिका सदस्य दिलेन्द्रकुमार कार्की, प्रतियोगिताका निर्देशक विश्वविजय घिमिरे लगायतले प्रमाण पत्र प्रदान गरे । डेविट घिमिरेले चीफ आर्बिटर र रोशन प्रधानले सहायक आर्बिटरको भूमिका निर्वाह गरेको उक्त प्रतियोगिताको निर्देशक मेची युमा चेस एकाडेमी तथा नाइट चेस क्लबका अध्यक्ष विश्वविजय घिमिरे थिए ।

स्वीस लिगका आधारमा खेलाइएको सो प्रतियोगिता उद्घाटन कार्यक्रममा एनएमसी वरिष्ठ उपाध्यक्ष भगवती घिमिरे (मैनाली) ले प्रतिस्पर्धी खेलाडीहरुलाई शुभकामना व्यक्त गरेकी थिइन् । त्यसक्रममा उनले प्रतियोगिताले मनोरञ्जन मात्र नभई शारीरिक र मानसिक रुपमा स्वस्थ र स्फूर्त बनाउँदै व्यक्तित्व विकासमा समेत योगदान पुग्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रम समापनका क्रममा सहभागीमध्येबाट भानु पोखरेल र रोजिना डाँगीले प्रतियोगिताले खेलप्रतिको आफ्नो रुचिलाई आत्मविश्वासमा परिणत गरेको प्रतिक्रिया दिए । प्रतिभा उजागर गर्ने मञ्चको रुपमा लिइएको उक्त प्रतियोगितालाई निरन्तरता दिन आयोजकसँग उनीहरुले अपेक्षासमेत गरे ।

संस्था सञ्चालक समिति सदस्य हरिप्रसाद आचार्य लगायतको आतिथ्यता रहेको कार्यक्रममा आयोजक उपसमिति सदस्य गंगाप्रसाद मैनालीले शाब्दिक स्वागतसहित प्रतियोगिताको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए । आयोजक उपसमिति सदस्य दिलेन्द्रकुमार कार्कीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन सत्रको सञ्चालन उपसमिति सदस्य सचिव हिरन कट्टेलले गरेकी थिइन् ।

Related Posts :

Comments :