NMC-COOP

एनएमसी सहकारी पसलले जगाएको आशा

नेपाल बहुउद्देश्यीय सहकारी संस्था ली.(एनएमसी)ले सुरु गरेको चौथो व्यवसाय ‘एनएमसी सहकारी पसल’ २०७६ बैसाखबाट सञ्चालनमा ल्यायौँ । यो पसलको अनुभवलाई हेरेर दोस्रो पसल सोही वर्षको फागुनमा सुरु गर्यौँ । अरु केही पसलका लागि आधार तयार गर्दै अगाडि बढ्यौँ ।

पसलको सुरुवातदेखि नै हामीले प्रतिकूलताको सामना गर्नुपर्यो । पहिलो प्रतिकूलता भनेको अनुभवको कमी थियो । सिक्दै अनुभव लिदँै दोस्रो, तेस्रो पसल सुरु गर्यौँ । ठीक त्यही बेला कोभिड–१९ सुरु भयो । कोभिडको अवरोध झेल्दै अगाडि बढिरह्यौँ । झण्डै दुई वर्ष लामो कोभिडको महामारीपछि आर्थिकमन्दीको प्रभाव समग्र बजारमा पर्न गयो । पसलको सञ्चालन घाटा लगातार बढ्दै गयो ।

कुनै समय एनएमसी परिवार र त्यसभन्दा बाहिर पनि एनएमसी डेरी उद्योगको खुबै चर्चा हुन्थ्यो । डेरी उद्योगले एनएमसी डुबाउने त होइन भन्ने चिन्ता थियो । एनएमसीलाई इष्र्याको नजरले हेर्नेहरु एनएमसी डेरी उद्योगमा अल्झिएर कमजोर भएको हेर्न चाहन्थे भन्ने पनि बुझेका थियौँ । डेरी उद्योगले सकारात्मक बाटो समात्यो । एनएमसी परिवार डेरीको चिन्ताबाट मुक्त भएर अगाडि बढ्यो ।
एनएमसी सहकारी पसल सुरु भएपछि र यो लेख तयार गर्दासम्म पनि एनएमसी परिवारमा पसलको कारणले समग्र संस्थालाई नै असर पर्न सक्ने हुन्छ कि भन्ने चिन्ता निकै धेरै छ । विभिन्न कार्यक्रम र साथीहरुसँगको कुराकानीमा यसको आभास पाइन्छ ।

सहकारी पसलको मोडल बजारमा खोलिने आधुनिक मार्ट जस्तै छ । यस्ता मार्टहरु खुल्ने र बन्द हुने क्रम चलिरहन्छ । २०५० सालतिर म काठमाडौँको त्रिपुरेश्वरमा ‘ब्लु बर्ड’ नामको मार्टमा पहिलो पटक गएको थिएँ । यहाँका समान निकै महङ्गो लाग्यो तर एकै छानामुनी धेरै समान पाइँदो रहेछ भन्ने जानकारी पाएँ ।

सन् २०१० (२०६६ सालमा) मा सहकारीकै कामको सिलसिलामा श्रीलङ्काको भ्रमणमा गएको थिएँ । त्यो बेला सहकारीले चलाएको धेरै र सफल सहकारी पसल (मार्ट)हरुको अवलोकन गर्ने अवसर मिलेको थियो । एनएमसीले तत्कालै यो व्यवसाय सुरु गर्न सक्ने अवस्था थिएन तर मनमा कतै सहकारीले गर्ने एउटा राम्रो व्यवसाय हुन्छ भन्ने सोचेको थिएँ । २०७६ सालमा यो व्यवसाय सुरु त गर्यौँ तर प्रतिकूलताको भारीले थिचेर सिधा हुनै दिएको छैन ।

जतिसुकै प्रतिकूलता भएपनि व्यवसायबाट पछि हट्ने सुविधा हामीलाई थिएन र छैन । त्यसैले यो व्यवसायलाई दिगो रुपमा सफल पार्न हामीले यसका आधारहरु बलियो बनाउँदै लग्यौँ । राज्यका नीति नियम मिचेनौँ, कानुन मिचेनौँ । व्यवसायका मूल्यहरुमा सम्झौता गरेनौँ । सदस्य र ग्राहकले पाउनु पर्ने सुविधा र न्यायको सिमा मिचेनौँ । सम्लायर्सहरुको विश्वास र मन जित्न भुक्तानी सिस्टमको नियमितता र अनुशासनलाई कमजोर हुन दिएनौँ ।

कर्मचारी व्यवस्थापन उत्तिकै चुनौतिपूर्ण थियो र छ । कर्मचारीलाई सेवाभाव र सहकारी पसलप्रतिको अपनत्व बोध गराउन, काम र जिम्मेवारीप्रतिको लगन एवम् इमान्दारितालाई निरन्तर कायम गर्दै अझ उचाइँमा लैजान विभिन्न हिसाबले काम गर्यौँ । यसमा धेरै सफलता प्राप्त गर्यौँ ।

पसलमा आउने ग्राहक र सदस्यको मन जित्न अनेकन प्रयास भएका छन् । यसमा पसलमा कार्यरत कर्मचारीको ठूलो भूमिका छ । हामीले यसमा पनि सफलता पाउदै गएका छौँ । आन्तरिक व्यवस्थापनको काममा धेरै सिकाइ भएको छ, अनुभव बढ्दै गएको छ । खरिदका अनुभव निखारिदै छन् । वितरण केन्द्र (डिसी¬)लाई व्यवस्थित गर्ने, डिसीबाट नियमित रुपमा पसल पसलसम्म समान सप्लाई गर्ने, सफ्टवेयरबाटै पसल र डिसीलाई चाहिने समानको अर्डर अटो क्रिएट हुने र त्यसलाई रुजु गरेर समान किन्ने तथा पठाउने सिस्टमको विकास यो अवधिमा भएको छ । सहकारी पसलको बारेमा बोर्ड बैठकमा पहिलेभन्दा चिन्ता र चर्चा कम हँुदै गएको छ । गुनासोहरु कम हँुदै गएका छन् ।

समग्र सहकारी संस्थाले मुनाफा गर्दा सदस्यलाई वितरण गरिने संरक्षित पुँजीकोषको रकमबाट एक सयदेखि पाँचहजार रुपियाँसम्मका लागि पसलबाट समान खरिद गर्न कुपन वितरण गर्ने काम भएको छ । गएको वर्ष संस्थाले नाफा गर्न नसकेकाले यस्तो कुपन वितरण गर्न सकिएन तर गएका दुई वर्षको कुपन वितरणले सहकारी पसलको बिक्री बढाउन र सदस्यलाई पसल चिनाउन ठूलो मद्दत गरेको अनुभव छ । आगामी वर्षहरुमा यसले निरन्तरता पाउने छ ।

सहकारी पसलको बिक्री र ‘मार्जिन’मा निकै ठूलो सुधार गर्न सकिएको छ । सुरुका वर्षहरुमा ‘ग्रस मार्जिन’ दश प्रतिशतको हाराहारी रहेकोमा यो वर्ष झण्डै १३ प्रतिशतको मार्जिन कायम हुन सकेको छ । मार्जिन वृद्धि हुनुमा सहकारी पसलले चलाएको प्याकेजिङ उद्योगको भूमिका महत्त्वपूर्ण रहेको छ । अहिले करिब ६० वटा आइटमको पसलले आपैmँ प्याकेजिङ गरी आफ्नै ब्राण्ड (एनएमसी कोअप)मा उत्पादन गर्न सफल भएको छ । जबकी यही समान पहिले अरु प्याकेजिङ उद्योगबाट खरिद गर्दा न्यूनतम् १० प्रतिशत बढी मूल्य तिर्नुपर्ने हुन्थ्यो । अहिले आपैmँले प्याकेजिङ उद्योग चलाउँदा पसलको मार्जिन पनि बढेको छ र उपभोक्तालाई सस्तो पनि पर्न गएको छ । पसलमा बिक्री गरिने सामानको खरिदमा पहुँच बढ्दै गएको छ । कतिपय समानमा होलसेलरबाट आयातकर्ता र उत्पादकसम्म पुग्न थालिएको छ । बिक्री बढेसँगै खरिदको मात्रा बढेको र धेरै खरिद गर्दा बार्गेनिङ पावर बढेको छ । यसरी पनि मार्जिन बढाउन सफल हुदै गएका छौँ ।

हरेक वर्ष कूल बिक्रीमा वार्षिक ३० प्रतिशतभन्दा माथिको प्रगति भएको छ । २०८० सालको माघ महिनामा तिन करोडको बिक्री हुँदा हामी निकै खुसी भएका थियौँ । दशैँ तिहारको महिनाबाहेक तिन करोड बिक्री पु¥याउन सकिएको थिएन । त्यसपछि क्रमशः बिक्री बढाउँदै लैजान सकियो र २०८३ को बैसाखमा ६ करोडको बिक्री गर्न सकियो ।

यसबिचमा इलाम जिल्लाको दानाबारी र मंगलबारेमा दुईवटा पसल थप गरिएको छ । यी सबैको प्रतिफल ६ करोड मासिकको बिक्री र त्यसमा भएको ग्रस मुनाफाले पहिलो पटक सहकारी पसलले मासिक खर्च कटाएर रु. ३ लाखभन्दा बढी खुद नाफा गर्न सफल भयो । यो निकै खुसीको कुरा हो । जेठमा बिक्री ६ करोड त पुगेन त्यसको नजिकमा पुग्यौँ र १ लाखभन्दा केही बढी खुद नाफा गर्न सक्यौँ । कुनै समय म सोच्ने गर्थेँ–‘वार्षिक १ करोडसम्म घाटा सीमित गर्न सकियो भने पनि खुसी मान्दै पसललाई निरन्तरता दिनुपर्छ ।’ किनकि यसका अरु साइडका फाइदाहरुमा चित्त बुझाउनु पर्छ । साइडका फाइदाको मतलब सहकारीले गरेको व्यवसाय, एकसय सय पच्चिस जनाभन्दा बढीले रोजगारी पाएको, बजारमा एनएमसीलाई थप चिनाउन मद्दत गरेको, उपभोक्ता र सदस्यलाई सहज भएको, सहकारी पसलको उपस्थित भएको बजारमा मूल्य नियन्त्रण भएको आदि ।

आर्थिक वर्ष २०८३–८४ को लागि सहकारी पसलले अनुमानित बजेट बनाउने तयारी गरेको छ । यो वर्ष वार्षिक रुपमा रु. ५० लाख खुद नाफा गर्ने लक्ष्य लिने आँट गरेको छ । जबकि यो वर्ष २०८१–८२ मा खुद घाटा १ करोडको हाराहारीमा हुने अनुमान छ । यो आँट गर्ने अवस्था बन्नु पनि ठूलो सफलता हो । यदि नाफा नगरेर वर्षभरीको सञ्चालनमा घाटा भएन भने पनि सफल भएको मान्नुपर्छ ।

सहकारी पसलको चुनौति सानो थिएन । धेरैले यो व्यवसायमा कुनै हालतमा नाफा हुँदैन । यसले कति घाटा गराउने हो नि भन्ने चिन्ता जाहेर गर्थे । मेरा र एनएमसीका एकदमै शुभचिन्तकले पनि यो व्यवसाय चाँडँै बन्द गर्नु यसमा सफल हुँदैन भन्थे । हामीसँगै र हामीभन्दा पछि खुलेका कतिपय यस्ता मार्टहरु बन्द भएको अवस्था पनि छ ।

सारमा यति भनौँ कि एनएमसीले गरेको व्यवसायमा असफल हुने छुट छैन भनेर बारम्बार भन्ने गरेको छु । यो व्यवसायले पनि अब सफल हुने बाटोको यात्रा सुरु गरेको छ । आशा जगाएको छ । सहकारी पसलले पनि आगामी वर्षहरुमा एनएमसी डेरी उद्योगले जस्तै नाफा कमाउने र सदस्य एवम् समुदायको निरन्तर सेवा गर्ने विश्वास बढ्दै गएको छ ।

२०८३ असार ७

रामचन्द्र उप्रेती
निवर्तमान अध्यक्ष
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.

Related Posts :

Comments :